कोटहीमाई गाउँपालिका र मन्त्रालय बीच सहकार्य कार्यक्रम

मर्चवार न्यूज 382+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थानीय तह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच अन्तरक्रिया (सहकार्य) कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका कार्यक्रमहरूको कार्यान्वयन पक्षलाई अझ प्रभावकारी र कुशल बनाउने उद्देश्यका साथ उक्त अन्तरक्रिया आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दिपक ढकालले संघीयताले प्रदान गरेका अधिकारलाई उपयुक्त रूपमा कार्यान्वयन गर्दै स्थानीय सरकारहरूले दायित्व अनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “संघीयतामा सबैभन्दा शक्तिशाली सरकार स्थानीय सरकार हो। संघ तथा प्रदेशबाट प्रवाह हुने सेवा पनि स्थानीय सरकारमार्फतै जनतासम्म पुग्ने भएकाले स्थानीय सरकार सबैभन्दा बढी विश्वसनीय हुनु अत्यावश्यक छ।”

उपसचिव ढकालले स्थानीय तहबाट जनतालाई प्रदान गरिने सेवा र व्यवहार नै समग्र सरकारको अनुहार झल्किने विषयमा जोड दिनुभयो । “स्थानीय सरकार जनमुखी बन्न सके संघ र प्रदेश सरकारको काम सकारात्मक रूपमा जनतासामु प्रस्तुत हुन्छ,” उहाँले थप्नुभयो ।


कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले संघीय सरकार मातहतका मन्त्रालयबाट समयमै निर्देशन नआउँदा धेरै काम अलमलमा पर्ने गरेको बताउनुभयो। विशेषगरी कारबाही तथा अनुसन्धानसम्बन्धी पत्र–व्यवहारमा तोकिएको निर्देशन नआएर समस्या दोहोरिने गरेको उहाँले जानकारी दिनुभयो । साथै, आर्थिक वर्ष २०८१÷०८२ मा गाउँपालिकाले चालु तर्फ ९६.४ प्रतिशत तथा पुँजीगत तर्फ ७१.१७ प्रतिशत बजेट खर्च गर्न सफल भएको जानकारी समेत दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रका अनुसार भवन निर्माण तथा अन्य योजना कार्यान्वयन, मापदण्डअनुसार सडक सिमा निर्धारण, सानातिना विषयमा समेत अदालत तथा अख्तियारमा उजुरी पर्ने प्रवृत्ति, विद्यालयहरूमा दरबन्दी अभाव, नदीजन्य पदार्थका ठेक्कामा आउने अवरोध लगायतका चुनौतीहरू अझै कायम रहेका छन् ।

कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनी, वडा नं. ४ का वडाध्यक्ष बेचुराम पाल, वडा नं. ७ का वडाध्यक्ष पवन कुमार यादव, वडा नं. ३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेयसहित विभिन्न शाखाका प्रमुखहरूले समेत पालिकाका समस्याबारे विस्तृत जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार